एक रहस्यमयी स्थान- स्याङ्जाको उत्तरवाहिनी क्षेत्र !

©खेम गैह्रे म कालीगण्डकीको किनारमै जन्मेर हुर्केको मान्छे। बिहान सबेरै जब सूर्यका किरणहरू पहाडको टुप्पोबाट निस्केर हाम्रो गाउँमा पर्थे, गण्डकीको सुसाउने आवाजसँगै म निद्राबाट ब्यूँझिन्थेँ। त्यो आवाज मेरो लागि निदाउने धुन पनि थियो र उठाउने अलार्म पनि । हाम्रो बाल्यकालको खेलमैदान भनेकै कालीगण्डकीको किनार थियो। त्यहीँ हामी नुहाउँथ्यौं, पौडिन्थ्यौं, गाई चराउँथ्यौं, पानीमा ढुङ्गा हान्दै कस्ले टाढा पुर्याउने भन्दै खेल्थ्यौं, तातो बालुवामा सुत्थ्यौं। पानीको छालसँग खेल्दा समय कसरी बित्थ्यो, थाहा नै हुँदैनथ्यो। त्यो बेला हामीलाई थाहा थिएन, यो केवल हाम्रो रमाइलोको स्थान मात्र होइन, धार्मिक र ऐतिहासिक दृष्टिले पनि अति महत्त्वपूर्ण भूमि हो। सायद सबैका यस्तै कुराले त उखान बन्यो होला- "नजिकको तीर्थ हेला"। गाउँमा ठूलो चहलपहल हुने दिनहरू एकादशी, माघे सङ्क्रान्ति र बैशाखे सङ्क्रान्ति। ती दिन बिहानै उठेर हामी आमाको पछि लागेर गण्डकी स्नान गर्न पुग्थ्यौं। पानी चिसो हुन्थ्यो, तर केटा-केटीमा त्यो चिसोपन खास्सै वास्ता हुदैनथ्यो। स्नानपछि बगरको बालुवामा खेल्ने, अनि फर्किँदा हातमा शालग्राम लिएर आउँ...