कहिल्यै स्कुल नजाने हेडसर !
©खेम गैह्रे २०८२ असार २३ आजकल मैले छोराको होमवर्क गराउँदा बारम्बार गुगल सर्च गर्नु पर्ने हुन्छ। कस्तो अचम्म लाग्छ, कहिलेकाहीं छोरोले सोधेका प्रश्न मलाई पनि थाहा हुँदैन। म आफ्नो स्कूल जीवन सम्झन्छु, जहाँ न त यस्तो जटिल पाठ्यक्रम थियो, न त कोही घरमा पढाइमा साथ दिने कोही हुन्थे। अनि लाग्छ बच्चाको पढाइको आधार त सानैमा तय गर्नुपर्दोरहेछ। म बाल्यकालमा एउटा सानो गाउँको प्राथमिक विद्यालयमा पढ्थें। घरदेखि स्कुल धेरै टाढा थिएन, यही सहजताको कारण आमाबाबुहरूले मलाई त्यही स्कुलमा भर्ना गरिदिनुभयो। केटाकेटी हिंड्न सक्दैनन भनेर टाढाको हाइस्कुलमा पढाउन कोही चाहँदैनथे, स्कूल गए पुग्छ! भन्ने सोच प्रचलित थियो। पढाइको स्तर, शिक्षण पद्धति, सिकाइको प्रभाव यी सबै कुराले खासै मतलव राख्दैनथे। हामीजस्तो सामान्य परिवारमा शिक्षाको मतलब थियो बच्चा स्कुल गयो कि गएन। किताब किनिदिएपछि अभिभावकको जिम्मेवारी सकिन्थ्यो। स्कुल गएपछी पढ्या त होला नि ! भन्ने सोच प्रबल थियो। न त बच्चाले पढेको हेर्ने चलन थियो, न त होमवर्क गरेको जाँच्ने। आज म छोराले लेखेको एक एक शब्द ध्यानपूर्वक पढ्छु। उसले के बुझ्यो, के लेख्यो, शिक्षकले क...