कहिल्यै स्कुल नजाने हेडसर !

©खेम गैह्रे
२०८२ असार २३ 






आजकल मैले छोराको होमवर्क गराउँदा बारम्बार गुगल सर्च गर्नु पर्ने हुन्छ। कस्तो अचम्म लाग्छ, कहिलेकाहीं छोरोले सोधेका प्रश्न मलाई पनि थाहा हुँदैन। म आफ्नो स्कूल जीवन सम्झन्छु, जहाँ न त यस्तो जटिल पाठ्यक्रम थियो, न त कोही घरमा पढाइमा साथ दिने कोही हुन्थे। अनि लाग्छ बच्चाको पढाइको आधार त सानैमा तय गर्नुपर्दोरहेछ।



म बाल्यकालमा एउटा सानो गाउँको प्राथमिक विद्यालयमा पढ्थें। घरदेखि स्कुल धेरै टाढा थिएन, यही सहजताको कारण आमाबाबुहरूले मलाई त्यही स्कुलमा भर्ना गरिदिनुभयो। केटाकेटी हिंड्न सक्दैनन भनेर टाढाको हाइस्कुलमा पढाउन कोही चाहँदैनथे, स्कूल गए पुग्छ! भन्ने सोच प्रचलित थियो। पढाइको स्तर, शिक्षण पद्धति, सिकाइको प्रभाव यी सबै कुराले खासै मतलव राख्दैनथे।




हामीजस्तो सामान्य परिवारमा शिक्षाको मतलब थियो बच्चा स्कुल गयो कि गएन। किताब किनिदिएपछि अभिभावकको जिम्मेवारी सकिन्थ्यो। स्कुल गएपछी पढ्या त होला नि ! भन्ने सोच प्रबल थियो। न त बच्चाले पढेको हेर्ने चलन थियो, न त होमवर्क गरेको जाँच्ने।



आज म छोराले लेखेको एक एक शब्द ध्यानपूर्वक पढ्छु। उसले के बुझ्यो, के लेख्यो, शिक्षकले के सुधार गरे, कोर्समा के छ, यी सब कुरा नियालेर हेर्छु। किनभने मलाई थाहा छ- सानो उमेरमा बनाइने आधार नै उसले जिन्दगीभर टेक्ने धरातल हो।




म पढ्दा हाम्रो स्कुलमा शिक्षकको अवस्था पनि खासै प्रेरणादायी थिएन। एकै शिक्षकले सबै विषय पढाउनुहुन्थ्यो- गणित, नेपाली, अङ्ग्रेजी सबै। उहाँ पनि सधैं पढाउने मूडमा रहनुहुन्थेन। कहिलेकाहीं कक्षामै निदाउनुहुन्थ्यो। क्लासवर्क वा होमवर्क देखायो कि देखाएन, खास फरक पर्दैनथ्यो। कापीमा जे लेखे पनि सही ठप्पा लगाइदिनुहुन्थ्यो, हामी त्यसैमा रमाउँथ्यौं। 



स्कुलको हेडसर को हुन् भन्ने नै मलाई कहिल्यै थाहा भएन। पढ्ने समयसम्म एकपटक पनि उहाँलाई स्कुलमा देखिएको सम्झना छैन।  म सानै थिएँ मलाइ सम्झना छ, एक दिन भाउजुले- "हजुरका हेडसरले त बिहे गरेछन् नि?" भनेर सोद्धा पो थाहा पाएँ चोकको चिया पसलमा सधैं गफिने व्यक्ती त मेरा हेडसर पो रहेछ्न्। 



त्यसैले त अहिले सम्झँदा लाग्छ- त्यो स्कुलले हाम्रो पुस्ताको पढाइ बिगारेको रहेछ। साथीहरू मध्ये केही विलक्षण प्रतिभा भएका छाडेर अधिकांशले पढाइमा प्रगति गरेनन्। कसैले पढाइमै रुचि गुमाए, कसैले अवसर गुमाए।



अब समय फेरिएको छ। स्कुलमा अभिभावक मिटिङ हुन्छ, साप्ताहिक प्रगति रिपोर्ट आउँछ। अनलाइन पोर्टलबाट बच्चाको सिकाइ स्थिति हेर्न पाइन्छ। होमवर्क, प्रोजेक्ट, कक्षा मूल्यांकन सबै पारदर्शी भएका छन्। तर अर्कोतर्फ प्रतिस्पर्धा पनि उत्तिकै तीव्र भएको छ।



बच्चाले सामान्य गल्ती गर्‍यो भने पनि शिक्षकले अभिभावकलाई खबर गर्छन्। कतिपयले त गुनासो गर्छन्- "अहिलेको स्कुलले बच्चालाई धेरै मानसिक दबाब दिन्छन।" तर म भने यसलाई सकारात्मक रूपमा हेर्छु। किनकि जब सिकाइमा गम्भीरता आउँछ, तब मात्रै सुधार सम्भव हुन्छ। मैले बच्चाको कापी पढ्दा कहिले काहीं आफूले आफैंलाई  प्रश्न गर्ने गर्छु- "यति सामान्य कुरा पनि मलाई थाहा छैन?"




अहिले मेरो छोरा कुनै कुरा बुझ्दैन भने झर्किने सोंच ममा छैन। म उसलाई फेरि सिकाउन प्रयास गर्छु। कहिलेकाहीं थाहा नभएको कुरा गुगल गर्छु, युट्युब भिडिओ हेर्छु, अनि उसलाई बुझाउँछु। उसले मसँग कुरा गर्न सहज महसुस गरोस् भन्ने चाहन्छु। किनकि मलाई थाहा छ,बचपनमा त्यस्तो वातावरण मैले पाइनँ।




म विश्वास गर्छु- शिक्षाको असली सुरुवात घरबाट हुन्छ। स्कूलले आधार दिन्छ, तर त्यो आधार बलियो बनाउन अभिभावकको भूमिकाले निर्णायक असर पार्छ। हाम्रो पुस्ता त्यो आधारबाट वञ्चित रह्यौं, तर अबका पुस्ता रहनु हुँदैन।




त्यसैले, अब हामी सबै सचेत बन्नुपर्छ। बच्चाको पढाइको सुरुवात सानैमा गम्भीरतापूर्वक गरौँ। शिक्षक र अभिभावक दुबै मिलेर बालबालिकाको भविष्य निर्माण गरौँ। हामीले भोगेका कमजोरी दोहोरिन नदिन सक्यौं भने, यही हाम्रो सच्चा योगदान हुनेछ।

Comments

Popular posts from this blog

बदलिएको दाइजो प्रथा- एक दिनको इज्जत

बाह्र-भाइ मिडिया

पण्डितको पेट मन्त्रले भरिँदैन!