बदलिएको दाइजो प्रथा- एक दिनको इज्जत

खेम गैह्रे
गल्याङ् नगरपालिका-१, मालुङ्गा, स्याङ्जा।

हामीलाई केही चाहिँदैन, कन्या भए पुग्छ। यो वाक्य सुन्दा कति सफा, सरल र प्रगतिशील लाग्छ। पहिलो पटक सुन्दा म पनि भावुक भइदिएँ। यही हो आजको सोंच, यही हो परिवर्तन, यही हो आशाको किरण! तर त्यो वाक्यको गहिराइमा लुकेको आग्रह, त्यो 'केही चाहिँदैन' पछाडि लुकेको  तर… भने मलाई पछि थाहा भयो जब म नजिकको आफन्तको बिहेमा प्रत्यक्ष सहभागी भएँ।


बिहे नजिकिँदै जाँदा तयारी धमाधम चलिरहेको थियो। केटी पक्षबाट खासै कुरा उठाइएको थिएन। सबै कुरा सहज र सादगीपूर्ण राख्ने सोच थियो। तर अन्तिम तिर बेहुला पक्षबाट सन्देश आयो- "लौ एक दिनलाई त ठाउँ राखिदिनु पर्‍यो, कान्छो भाइको बिहे रमाइलो गर्नुपर्छ भनेर दिदीहरू कराए, के गर्ने! एक दिनको इज्जत त जोगाइदिन पर्‍यो हजुर!"


त्यो 'एक दिनको इज्जत' भन्ने शब्दले नै मेरो मनोविज्ञान पल्टाइदियो। सानो बिहे गर्ने योजनामा अचानक महँगो पार्टी प्यालेसको बुकिङ भयो, जन्ती-पाहुना सत्कारको सूची लामो हुन थाल्यो। सुरुवातमा- कन्या भए पुग्छ भन्ने अभिव्यक्ति कसरी एक दिनको इज्जत को बोझमा परिणत भयो, त्यो अनुभव प्रत्यक्ष देख्न पाएँ।



पहाडी ग्रामिण समाजमा त अझै पनि बा लाई के लगाइदिए, मामालाइ के लगाइदिए भनेर चासोका साथ हेरिन्छ। "मैं हुँ भन्दै हिंड्थ्यो, औंलामै हराउने औँठी लाइदिएछन्, गतिलामा त गएनछ फलानो।" भनेर चियापसलमा चर्चाको विषय बनाउने परिपाटि समाजमा देख्न पाइन्छ।



दाइजो प्रथा कानुनले निषेध गरेको दशकौं भइसक्यो। तराई क्षेत्रमा अझै पनि नगद, मोटरसाइकल, सुनको तौल खुलेर तोकिन्छ, त्यो पुरानै स्वरूपमा। तर पहाडी क्षेत्रमा यो माग खुलेर होइन, लुकेर गरिएको हुन्छ- 'इज्जत' को नाममा। विवाह भोज, गहना, होटल, गिफ्ट, सबै कुराले केटी पक्षलाई सिधै नभएर घुमाउरो शैलीमा थिचिरहेको हुन्छ।



मैले चिनेको थुप्रै परिवारले छोरीको बिहे गर्दा ऋणको भारी बोकेको देखेको छु। किनभने उनीहरू 'राम्रै घरको केटा' पाउन चाहन्छन्, तर त्यो केटा र उसको परिवारले प्रत्यक्ष माग नगरे पनि 'इज्जत' को नाममा लुकेका सर्तहरू राख्छन्। फलस्वरूप, परिवारहरू महँगो गहना किन्न, ठूला भोज गर्न र गिफ्टहरू तयार गर्न बाध्य हुन्छन्।


कति परिवारहरूले आफ्नो खेतीको जमिन बेचेर, धितो राखेर वा माइक्रो फाइनान्स बाट ऋण लिएर छोरीको बिहे गर्छन्। बिहे भएपछि वर्षौंसम्म त्यो ऋण तिर्न नसक्दा आर्थिक तनाव, मनोवैज्ञानिक बोझ र परिवारभित्र कलहसमेत हुने गर्छ।


विवाह जस्तो पवित्र संस्कार देखावटी प्रतिस्पर्धाको केन्द्र बन्न पुगेको छ, जसले सम्बन्धभन्दा बाहिरी चमक-धमकलाई महत्व दिएको देखिन्छ। देखावटी भोज, महँगो गहना, र ठूला गिफ्ट बिना विवाह सम्पन्न गर्नु प्रतिष्ठाको कुरा मानिँदैन।


यस्तो समस्याबाट निस्कने उपाय भनेको समाजको सोचमा परिवर्तन ल्याउनमा निर्भर छ। सबैभन्दा पहिला, विवाहलाई विलासिता र प्रदर्शनको कार्यक्रम नभई दुई परिवारको आत्मिक सम्बन्ध स्थापनाको अवसरका रूपमा बुझ्न आवश्यक छ। 


कन्यालाई मात्र होइन, कन्याको शिक्षा, क्षमतालाई सम्मान गर्नुपर्छ। बेहुली पक्षले दिएको सुनको तौलले होइन, उसको मानवताको मूल्याङ्कन हुनुपर्छ। साथै, विवाहमा खर्च कम गर्ने, सादा समारोह आयोजना गर्ने र देखावटी प्रतिस्पर्धाबाट टाढा बस्ने पहल हर परिवारले लिनुपर्छ। 



अन्ततः परिवर्तन भनेको ठूला भाषण र कानुनी प्रावधानबाट मात्र सम्भव हुँदैन। जबसम्म हामी आफ्नो व्यक्तिगत जीवनमा पुराना र अप्ठ्यारा संस्कारहरूको प्रतिकार गर्न सक्दैनौं, तबसम्म सामाजिक रोगहरू अन्त्य हुँदैनन्। इज्जत भोज-भतेरमा होइन, व्यवहार र संस्कारमा हुन्छ भन्ने चेतना आजको युवापुस्ता र सम्पूर्ण समाजमा फैलिनैपर्छ।

Comments

Popular posts from this blog

बाह्र-भाइ मिडिया

पण्डितको पेट मन्त्रले भरिँदैन!