पण्डितको पेट मन्त्रले भरिँदैन!
हामी आफैं थोरै दक्षिणा दिन्छौं अनि आफैं पन्डित लोभी हुन्छन भनेर तुच्छ टिप्पणी गर्छौं। हामी अरु पेशालाई सम्मान दिन्छौं डाक्टर, इन्जिनियर, वकिल, मिस्त्री, जे भए पनि पहिले पारिश्रमिक कति हो भनी सोध्छौं, सहमति गर्छौं। तर पण्डितको हकमा? गोप्य रुपमा खाम दिन्छौं।
हामी कहिल्यै सोंच्छौं त पन्डित कसरी पन्डित बन्यो ?
उसले सानै उमेरमा घरपरिवार छाड्यो। कठ्यांग्रीदो पुषे जाडोमा न त गतिलो ओढ्ने कम्बल, न त राम्रो खाइपाइ। गुरुकुलमा बसेर, टुप्पी कसेर, चिसो भुइँमा पाठ गर्यो। बिहान सबेरैदेखि रातिसम्म मन्त्र, शास्त्र, कर्मकाण्ड र वेद अध्ययन गर्यो। त्याग गर्यो, तपस्या गर्यो, तब मात्र उसले पण्डित को पदवी पायो।
मेरो घर नजिकै गुरुकुल शिक्षालय छ। एकदिन एउटा सानो बच्चा ठूलो झोला बोकेर ओरालो झर्दै रहेछ मैले मोटरसाइकल रोकेर भनें-
बाबू गुरुकुल जाने हो? बस म पुर्याइदिन्छु- उ बस्यो ।
झर्नेबेलामा सोधें घर कहाँ हो?- बाग्लुङ !
कतिकक्षामा पढ्छौ?- ६ कक्षामा।
अनि सोंधे कति वर्षको भयौ?- अस्ति बाट १० वर्षको पुगेर ११ को लागें।
उसको उत्तरले मलाइ तरङ्गित बनायो। घरको आफ्नो छोरो सम्झिएँ। उसको उमेरको बच्चा बाग्लुङ देखि एक्लै गन्डकी किनारमा रहेको स्याङ्जाको गुरुकुल पढ्न आएको छ। के उसका आमाबाबुको त्याग होइन यो? त्यो उमेरको बच्चालाइ त्यसरी घरभन्दा टाढा, गन्डकीको किनारको चिसो भुइँमा पढ्न पठाउने हिम्मत जो कोहि अभिभावक ले गर्न सक्ला?
उ झलुङ्गे पुल तरेर पारी जाँदै थियो मैले उसलाइ पछाडी बाट एक टकले हेर्दै मनमा कुरा खेलाउँदै टोलाउँदै थिएँ। धेरै वर्ष पहिले आमाले भन्नुभएको कुरा मनमा आयो।
मेरो जेठो दाइले गुरुकुल पढ्नु भएको ! गाउँको कोटघरमा दशैं पुजामा दाइ मुल पन्डित बनेर बस्दै गर्दा आमाले सुनाउनु हुन्थ्यो-
इत्रो धोती बेरेर फुन्टुङ-फुन्टुङ टाउकामा गुन्टो बोकेर घरबाट निस्किंदा आँशुले आँखा भरिएर हेर्न सक्दिन थें। आज पन्डित बनेर गौउँको ब्यासमा बसेको देख्दा गर्वले छाती फुलेको छ। हिजो बिचरा बाबू ! भनेको भए आज यो ठाउँमा हुन्थ्यो र तेरो दाइ? त्यसैले पढ्ने बेला पढ्नु पर्छ र पछि ठूलो मान्छे भैन्छ; भन्दै मलाइ सम्झाउनु हुन्थ्यो आमाले।
मेरो बुवा ले पनि सुनानुहुन्थ्यो- पहिला-पहिला अहिले जस्तो सबैकहाँ चामल हुँदनथ्यो, कर्मकाण्ड गर्न चामल नभै भएन ! पन्डित आफैंले घरबाट झोलामा चामल लगेर पनि यजमानको कर्मकान्ड उम्काइदिन्थे।
मेरो गाउँमा एकजना पण्डितजी हुनुहुन्थ्यो पूजा गर्ने, मन्त्र बोल्दा स्वर अलि चर्को अनि गर्विलो। तर उहाँमा एउटा अचम्मको यस्तो 'कला' थियो, जुन सबैले चाल पाउँदैनथे- खाम व्यवस्थापन ! चौरासी, श्राद्ध, ब्रतबन्ध... जुनसुकै संस्कारमा जाँदा पनि उहाँसँग सधैं एउटा जुक्ति तयार हुन्थ्यो।
कहिलेकाहीँ त कसैले हाँसो गर्दै जिस्क्याउने गर्थे "खै पण्डितजी खाम हेरम त, आजको ढेडी कति उठ्यो ?"
त्यस बेला पण्डितजी मुस्कुराउँदै निकै सहज तरिकाले खाम खोल्थे, तर त्यो भन्दा अघि, बिस्तारै आफ्नै खल्तीबाट अलिकति नोट थप्थे। खाममा रकम देख्नेहरुको अनुहार उज्यालो हुन्थ्यो, हत्तेरी, यत्रो दक्षिणा!
हामीहरु पनि भन्थ्यौं- 'पन्डित्याइँको खेलो त साँच्चिकै गज्जब पो हुँदो रहेछ पन्डित जी !' यसरी उहाँले आफ्नो मात्रै होइन, यजमानको पनि इज्जत जोगाइ दिनुहुन्थ्यो।
पण्डितको पेट पनि त मन्त्रले भरिंदैन। उसले पनि घर चलाउनुपर्छ, सन्तान पढाउनुपर्छ, बाँच्नुपर्छ। जबसम्म हामी उसको श्रमलाई मूल्य दिँदैनौं, उसले गरिरहेको साधनालाई सम्मान गर्न सक्दैनौं, तबसम्म दोष पण्डितमा होइन, हाम्रो सोचमा रहिरहन्छ।
धेरैले भन्छन् पण्डितहरूले धर्मलाई व्यापार बनाएका छन्। तर हामीले कहिल्यै सोचेका छौं त के हामी तिनै पन्डितका ग्राहक कस्ता छौं? छोटो सस्तो पूजा खोज्ने, कम दक्षिणामा धेरै सेवा माग्ने, धेरै विधि छिटो सकियोस् भन्ने सोच राख्ने यही व्यवहारले त धर्मको बजार बनाएको हो। जब किन्नेको सोच सस्तो हुन्छ, बेच्नेले पनि मूल्य घटाउँछ, पण्डितमा पनि यही लागू हुन्छ।
धर्म भनेको केवल देखावटी कुरा होइन। त्यो श्रद्धा, निष्ठा र सम्मानसँग जोडिएको हुन्छ। जब हामी आफैं पण्डितको श्रमको सम्मान गर्न सक्दैनौं, तब दोष पण्डितको होइन, हाम्रो सोचको हो। साँचो कुरा के हो भने, दोष पण्डितमा होइन। दोष हाम्रो सोचाइमा छ।
Comments
Post a Comment