बाबुकै मुख हेर्ने दिन: बुवालाइ बचाउँन सक्दैनौं भनेपछी...!
बाबुकै मुख हेर्ने दिन: "बुवालाइ बचाउँन सक्दैनौं भनेपछी...!"
खेम गैह्रे
सबैकी एउटी दिदी र पाँच भाइ मध्ये म ! बुढेसकालमा जन्मिएको कान्छो छोरो। जब म संसार बुझ्न थाल्दै थिएँ, त्यसैबेलादेखि बुबाको शरीर रोगले थलिएको थियो। मेरो बाल्यकालको स्मृतिमा बुबाको साथ भनेको कहिले अस्पतालको सानो शैयामा, कहिले घरको कोठाको ओछ्यानमा आराम गरिरहनुभएको अवस्थामै सीमित छ।
दाइहरू सबैजना आफ्नो भविष्यको खोजीमा घर बाहिर लागिसक्नुभएको थियो। घरमा आमा र म। सानो छोराले बुझ्न नसक्ने, तर महसुस गर्न थालिसकेको पीडादायक समय। कहिले अस्पतालको गन्ध, कहिले घरको चुपचाप वातावरण।
उमेरले सानो थिएँ, तर परिस्थितिले उमेरभन्दा छिटै व्यवहारिक बनायो र मलाई चाँडै ठूलो बनायो। बुबालाई नजिकबाट हेर्न पाउनु, उहाँको पीडालाई देख्नु, अनि त्यसभित्र लुकेको उहाँको ममता महसुस गर्नु, यी सबै मेरा अमूल्य स्मृतिहरू हुन्। जीवन बुझ्न, समाज बुझ्न र सहन सिकायो सायद त्यो पनि बुबाका अर्ति, उपदेश र उहाँको मौन उपस्थितिको प्रभाव थियो। कहिल्यै ठूलो स्वरमा केही नभने पनि, उहाँको हरेक व्यवहारले एउटा पाठ सिकाउँथ्यो।
बुबाको स्वास्थ्य बिग्रँदै गएपछि उहाँलाई थाहा थियो, जीवनको यात्रा कहिले टुंगिन्छ भन्न सकिँदैन। यही चिन्ताले होला, उहाँले भन्नुहुन्थ्यो-"यसको बिहे त मैले गर्दिन पाउँदिन होला। कम्तीमा ब्रतबन्ध त घरैबाट गरिदिऊँ।" अनि त्यसैगरी, मेरो ब्रतबन्धको तयारी सुरु भयो घरको आँगनमै, बुबाको आँखाअगाडि। त्यो दिन मेरो लागि ब्रतबन्ध मात्र थिएन, त्यो दिन बुबाले मेरो जीवनप्रतिको जिम्मेवारी एक किसिमले हस्तान्तरण गर्नुभयो बोल्दाबोल्दै होइन, महसुस गराउँदै। उहाँको आँखामा गर्व थियो, अनि हल्का डर पनि।
दम, प्रेसर, सुगर अनेक रोगले बुबाको शरीरलाई जकडिएको थियो। ती रोगहरू जस्तै लाग्थे, जसले सधैं हामीसँगै बस्छन्। अस्पतालका नियम, इन्जेक्सनको समय, रिपोर्ट हेर्ने तरिका, बिरामीको स्याहार यी सबै कुरा मलाई कण्ठ भइसकेका थिए। साथीहरू खेल्थे, म अस्पताल जान्थेँ। उनीहरूलाई अस्पतालको गन्ध अनौठो लाग्थ्यो, मलाई त त्यो गन्ध आफ्नै घरको जस्तै लाग्थ्यो। अस्पताल मेरो लागि अब अनौठो रहेन। त्यो त बुबासँग बिताउने ठाउँ बनिसकेको थियो दुखाइभित्र लुकेको ममता महसुस गर्ने ठाउँ। जीवनका अन्तिम क्षणहरू आएका रहेछन्।
झम-झम भदौरे झरी; मणिपाल अस्पताल पोखराको चिसो मौसम ! बिहानको उज्यालो झुल्किन नपाउँदै डाक्टरहरू राउण्डमा आए। उनीहरूको अनुहारमा गहिरो मौनता र आँखामा समवेदना थियो। एकछिन चुपचाप उभिएर भने- "अब बुवालाई बचाउन सक्दैनौं, तपाईंहरू चाहनुहुन्छ भने घर लैजान सक्नुहुन्छ।” बिडम्बना भनौं या संयोग त्यो दिन "बाबुको मुख हेर्ने दिन- कुशे औंशी" रहेछ। मेरा लागि भौतिक रुपमा बाबुको मुख हेर्ने दिन त्यो नै अन्तिम थियो। अब बुबालाई बचाउने सम्भावना सकियो। उहाँलाई घर ल्याइयो। ढल्कँदै गरेको शरीरलाई ओछ्यानमा सुम्सुम्याइयो। अनि म उहाँको छेउमा बसें, सधैंझैं चुपचाप।
![]() |
बुवा |
बुबाको ओछ्यान छेउमै बसेर मैले जीवनका धेरै गहिरा पाठहरू पढें। कहिलेकाहीँ उहाँ बोल्न सक्नुभएन, तर मौनता भित्र पनि म उहाँको माया पढ्न सक्थें। उहाँको सास फेर्ने क्रम, आँखाको हलचल, र कहिलेकाहीँ हल्का स्पर्श यी सबैबाट म भावनाहरू बुझ्न थालिसकेको थिएँ।
सबै छोराछोरीको बिहेदान बुबाले आफ्नै हातले गरिदिनुभएको थियो। सबै आफ्ना सुरमा लागेका थिए। तर म! म त अझै सानो थिएँ, जीवनका थुप्रै पाटा चिहाउनै बाँकी थियो। सायद यही कारण, त्यो दिन, बुबाको मनमा एक गहिरो पीर थियो "यो त अझै सानै छ, यसको जिम्मेवारी त मैले पूरा गर्न पाइन।" त्यो बोलीमा शायद शब्द थिएनन्, तर आँखाले सबथोक भनिरहेका थिए। म उहाँको छेउमा बसिरहेको थिएँ। उहाँका आँखा ममाथि टक्क अडिए, अनि त्यो मौन दृष्टिमा जति माया थियो, त्यति नै असक्तता पनि। र, त्यही एक क्षण उहाँका आँखाको मूल फुट्यो। अश्रुधाराले भन्न खोजेको थियो "मसँग समय भएन, तिमीलाई सम्हाल्न... अझै केही समय भए त म यो अधुरो जिम्मेवारी पुरा गर्थें।"
बुवाको आखाँंमा आँसु जीवनमा पहिलो पल्ट देखें। म त्यहाँ बस्न सकिनँ। एकछिनमा उठेर बाहिर निस्किएँ। तर आज, वर्षौंपछि, ती आँसुहरू सम्झँदा लाग्छ उहाँले जीवनको अन्तिम सासमा पनि मलाई सुम्पिनुभएको थियो एउटा भरोसा, एउटा आशीर्वाद, अनि एउटा अमूल्य उत्तरदायित्व।
जब बुवाले सधैंका लागि छोडेर जानुभयो, संसार एकाएक अँध्यारो भयो।मन बुझाउन धेरै प्रयास गरेँ- संसारको नियम यस्तै हो ! भन्नेहरू धेरै थिए। तर जसले आफ्नै मान्छे गुमाउँछ, उसलाई मात्र थाहा हुन्छ त्यो शून्यताको गहिराइ। आँसु थाम्न खोजें, तर जब उहाँको पार्थिव शरीर बोकेर घरबाट बाहिर निस्किइँदै थियो, मेरा आँखाले संसार हेर्न मानेनन्। आशुले आँखै बन्द भए, बाटो नै देखिएन। त्यो क्षण सम्झिँदा अझै पनि भक्कानिन मन लाग्छ।
तर समयले सधैं दुःखमा राख्दैन। बिस्तारै सबै कुरा फेरिन थाल्यो। सायद प्रकृतिको नियम यही हो। हामीलाई ढुक्क पार्दै अगाडि बढ्न बाध्य बनाउने। जसले सबैलाई अन्ततः अगाडि बढ्न सिकाउँछ। तर त्यो अगाडि बढाइको अर्थ बिर्सनु होइन। आज पनि उहाँको अनुहार सम्झिन्छु, आवाज झल्किन्छ, ती आँखाका आँसु सम्झिन्छु। उहाँ अब हुनुहुन्न, तर उहाँका आदर्श, सम्झना र आशीर्वाद भने सधैं मसँगै छन्।
Comments
Post a Comment