बाह्र-भाइ मिडिया

खेम गैह्रे
गल्याङ् नगरपालिका~१, मालुङ्गा, स्याङ्जा। 




नेपालको पछिल्लो समयमा राजनीतिक र संचार परिदृश्यमा एक असाधारण र विचारणीय मोड देखिएको छ। जब सत्य भन्दा पहिला कथा बिक्न थाल्यो, र विवेक भन्दा पहिला भावना हावी हुन थाल्यो। यो प्रवृत्तिको उत्कट उदाहरण बनेका छन् चर्चित नेता रबि लामिछाने र उनले प्रयोगमा ल्याएको "१२ भाइ मिडिया" भन्ने संज्ञा। पत्रकार सम्मेलनमा उनले सोझै ठूला मिडिया हाउसहरूलाई आरोप लगाउँदै जनतालाई सावधान गराए यी १२ भाइ मिडिया मसँग विरुद्ध छन्, जे लेख्छन्, पत्याउनु हुँदैन। यस अभिव्यक्तिले नेपाली संचार संस्कृतिमा एउटा नयाँ मोड ल्यायो। त्यसपछि देशभरका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले, विशेषतः रबि समर्थकहरूले, ठूला मिडिया हाउसहरूलाई दलाल, एजेन्डा चलाउने, पैसामा बिकेका जस्ता गम्भीर आरोपहरू लगाउन थाले।


तर प्रश्न उठ्छ यदि मिडिया साँच्चिकै अविश्वसनीय छन् भने, तिनीहरूले पुराना दलका नेताहरूको आलोचना गर्दा र स्वयं लामिछानेका बारेमा सकारात्मक कुरा गर्दा त्यसलाई किन पत्याइन्छ? यही प्रश्नबाट सुरु हुन्छ हाम्रो सामाजिक र मानसिक संरचनाको परीक्षण। हाम्रो समाजमा मिडियाबाट प्रमाणसहित समाचार आउँदा त्यसलाई आफ्नो विश्वास अनुसार हेर्छन्, आफूले मन पराएको नेताको पक्षमा आयो भने ठिक, विपक्षमा आयो भने षड्यन्त्र। यही प्रवृत्तिले नेपाली मिडियाको विश्लेषणात्मक भूमिकालाई कमजोर बनाएको छ। जब पत्रकारिताले आफ्नो कर्तव्यअनुसार आलोचना गर्छ, तब त्यो आलोचना कसको विपक्षमा हो? भन्ने चश्माबाट हेर्ने चलन बढ्दो छ। सत्यको मूल्य होइन, त्यो सत्य को विरुद्ध छ भन्ने मुख्य बिन्दु बन्न पुग्छ।


रबि लामिछानेजस्तो सञ्चारमा दक्ष व्यक्तिलाई थाहा थियो मिडियाले आफ्नो नागरिकता प्रकरण वा अरु विवादको विषयमा तथ्य ल्याउनेछ। त्यसैले उनले पहिले नै मिडियालाई पूर्वाग्रही, विश्वासघाती को रूपमा चित्रित गरे। यो एक रणनीति थियो, जसले सत्यको असरलाई कम गर्ने काम गर्‌यो। 


यसलाई एक प्राचीन कथा शैलीमा पनि बुझ्न सकिन्छ: 


एकजना श्रीमान थिए, दुइमुखे चरित्रका। बाहिर जेठा कुरा गर्ने, भित्र अनेकन कुरा लुकाउने। उनीसँग एकजना असल मित्र थिए। जसलाई उनका सबै भित्री चालबाजी थाहा थियो, कसरी उनी बाहिर देवता जस्ता देखिए पनि भित्र झन् कसरी चलाखी गर्थे, सबै। अब एकदिन श्रीमानलाई लाग्यो अब त साथीले मेरी श्रीमतीलाई सबै कुरा खोल्ने भयो। श्रीमतीले थाहा पाउने बित्तिकै म त सकिएँ। डरले आत्मा नै थरथराउन थाल्यो। त्यसैले उनले चाल चलाए, त्यो पुरानै, तर कालजयी चाल। श्रीमतीलाई बोलाएर भने "हेर्नु है, त्यो मेरो साथी त ठिक छैन। केही दिनदेखि मानसिक रूपमा अस्थिर छ। जे पायो त्यही बोल्दै हिँड्छ। के के गज्जब गज्जबको कुरा गर्छ। ऊ जे भने पनि पत्याउनु हुदैन। उ त मेरो इर्ष्या गर्छ।" श्रीमती पनि विश्वासी थिइन्। मनमनै सोचिन्, "अहो, यस्तो पनि साथी हुँदो रहेछ?" अनि मनमा पहिल्यै एक संशयको सिँचाइ भयो।


त्यहीबीच त्यो साथी आइपुग्छ। म तपाईंलाई केही भन्न चाहन्छु... उहाँका केही व्यवहार ठीक लागेन, जनताका अगाडि जे देखाउनुहुन्छ, घरभित्र त्यो छैन। तर अब श्रीमतीको कानमा त्यो कुरा पस्यो तर मनमा उत्रेन। किनभने पहिले नै श्रीमानले माटो छ्यापिसकेका थिए।


अब यही कथा राजनीतिमा आएर, रबि लामिछाने बने- श्रीमान, मिडिया बन्यो- त्यो  साथी र   जनता बने- श्रीमती। रबिले बुझिसकेका थिए, म माथि प्रश्न उठ्छ अब मिडिया चुप लाग्दैन। त्यसैले उनले त्यसको पूर्वतयारी गरे। १२ भाइ मिडिया भनेर एउटा झिनो साँचो समातेर सम्पूर्ण मिडियाको चरित्र हत्या गर्ने प्रयास गरे। जब मिडियाले साँचो कुरा ल्यायो नागरिकताको, कागजपत्रको, प्रक्रियाको तब जनता पहिले नै ब्रेनवाश भइसकेका थिए। उनीहरूको कानमा कुरा पुग्यो, तर मनमा बसेन। अनि? १२ भाइले लेखेको त हो नि! त्यो दिन सत्य हार्‍यो, कथा जित्यो। त्यो दिन जनमत विवेकभन्दा भन्दा भावना भएर बग्यो। र एक नेता  जसलाई थाहा थियो कथा कसरी बनाउने। अझ गहिरो गड्यो जनताको मनमा  १२ भाइ।



यो प्रवृत्तिले मिडिया मात्र होइन, आम नागरिक चेतना पनि प्रभावित बनाएको छ। अब समाचारको सत्यता प्रमाणमा होइन, यो हाम्रो हो कि होइन? भन्ने प्रश्नमा आधारित हुन थाल्यो। यस्तो स्थितिमा लोकतन्त्रको मूल आत्मा बहस, आलोचना र विवेक क्षीण बन्छ। मिडियाले कुनै पुराना दलका नेताको भ्रष्टाचार उजागर गर्छ भने त्यो पत्याइन्छ। तर उही मिडियाले नयाँ नेताको आलोचना गर्‌यो भने त्यो मिडिया १२ भाइ बन्छ। यदि कुनै मिडिया अविश्वसनीय हो भने, त्यसको सबै सामग्री खारेज गरिनुपर्छ, मनपर्ने नेताको प्रशंसा पनि!


तर हामी देख्छौँ, जनता आफैंले त्यो मिडिया प्रयोग गर्छन्, जबसम्म त्यो उनीहरूका विचारसँग मेल खान्छ। त्यसपछि विरोधमा आयो भने तुरुन्तै दलाल को लेबल लाग्छ। सामाजिक सञ्जाल र युट्युबजस्ता माध्यमहरूमा नयाँ कथा निर्माण गर्न सजिलो छ। त्यहाँ तथ्य होइन, भावना बिक्छ। र जुन समाजमा शिक्षा प्रणालीले आलोचनात्मक सोच होइन, अन्धभक्ति उत्पादन गर्छ, त्यहाँ यस्ता कथा झनै सफल हुन्छन्। रबि लामिछानेको प्रकरण यही तथ्यको सशक्त उदाहरण हो। उनले मिडियालाई गलत बनाउने कथा बनाए  र त्यो कथा जनताको मनमा बसेको छ। अब तथ्यले होइन, भावनाले फैसला गर्छ।


अब प्रश्न जनतामै फर्किन्छ के हामी सत्य जान्न तयार छौं, वा केवल आफूले सुन्न चाहेको कुरा मात्र पत्याउन खोजिरहेका छौं? लोकतन्त्रको मूल्य त्यही समाजमा टिक्छ, जहाँ नागरिकले आलोचना पचाउन जान्दछन्। जहाँ नेताको लोकप्रियता भन्दा माथि सत्य राखिन्छ। र जहाँ मिडिया कसले लेख्यो? होइन, के लेख्यो? भन्ने आधारमा मूल्यांकन हुन्छ। ।


नत्र, हामी त्यही कथा दोहोर्‍याइरहनेछौं — जहाँ श्रीमानले श्रीमतीलाई पहिले नै ब्रेनवाश गरिसकेको हुन्छ, अनि सत्य बोलेको साथीलाई पागल प्रमाणित गर्न समय लाग्दैन। आज हामी जहाँ छौं, त्यो प्रवृत्तिको संघार हो। अबको यात्रा हाम्रो विवेकले तय गर्ने हो। सत्य स्वीकार्न सक्ने आँट छ भने मात्रै हामी लोकतन्त्रका योग्य नागरिक हौं।

Comments

Popular posts from this blog

बदलिएको दाइजो प्रथा- एक दिनको इज्जत

पण्डितको पेट मन्त्रले भरिँदैन!