एन्टेना घुमाउँदै टिभी हेर्ने त्यो पुस्ता !

©खेम गैह्रे २०८२ असार २४ गते हुन त चप्पल पनि नलगाई, खाली खुट्टै बुटवलबाट नुन बोकेर ल्याउने पुस्ता आज पनि हाम्रै वरिपरि देखिन्छ। उनीहरूका चाउरिएको अनुहारले समयको कथा सुनाइरहेका हुन्छन्। तर अहिलेको पुस्ता हेर्दा र आफ्नै बाल्यकाल सम्झँदा, कहिलेकाहीँ अचम्म लाग्छ। हामीले पनि यति धेरै परिवर्तनको बिचमा जन्मियौं र हुर्कियौं कि हाम्रो सम्झनाहरु आजको बालबालिकालाई कथा र कहानीजस्तै लाग्न थालिसक्यो। आजको पुस्ताले हेर्ने सिरियल नेटफ्लिक्स मा आउँछ, हाम्रो पुस्ताले हेर्ने सिरियल भने "एन्टेफ्लिक्स थियो- एन्टेना फ्लेक्स गर्दा आउने टिभी।" त्यो पनि ब्ल्याक एण्ड व्हाइट! आँगनको डिलमा ठूलो बाँसको टुप्पामा झुन्ड्याइएको एन्टेना, र त्यो एन्टेना घुमाउने जिम्मा सधैं हामी बालबालिकाकै काँधमा। कहिले छानामा, कहिले रुखको टुप्पामा चढेर एन्टेना समाउने काम। पढ्न भन्दा एन्टेना घुमाउनै सजिलो हुन्थ्यो। बिष्णुपुराण र हिजोआजका कुरा हेर्ने दिन त घरमा युद्ध हुन्थ्यो। एक जना भित्र टिभीको पर्दा हेर्दै- आयो आयो! भनेर कराउँथ्यो, अर्को बाहिर एन्टेना घुमाउँदै- अब आयो? भन्दै चिच्याइरहन्थ्यो । धन्न त्यो बेलामा मोबाइल थ...