फेक न्युजको महामारी !

लेखक खेम गैह्रे



(कुनै सामग्री पढेर शेयर गर्नु अघि स्रोत खोज्ने, तुलना गर्ने, कसरी आयो, किन आयो र कसले लेख्यो? भनेर पनि सोच्न थालौँ। फोन मात्र होइन, सोंच पनि स्मार्ट बनाऔं, डिजिटल मूर्ख हुनबाट बचौं।)



अहिले मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालको आगमनले आम मानिसको हातमै सूचना पुर्‍याएको छ। अब रेडियो, टेलिभिजन, अखबार कुर्नु पर्दैन; सूचना आफैं मोबाइलको स्क्रीनमा झर्दछ। तर यही सूचना सहजताको युगमा एउटा यस्तो समस्या मौलाएको छ, जसले सत्य र असत्यको सीमारेखा नै मेट्न थालेको छ- "फेक न्युज !" अर्थात् झूटा समाचार। फेक न्युज अब केवल हास्यास्पद अफवाह होइन, यो जनमत निर्माणमा प्रभाव पार्ने एउटा गम्भीर, संगठित र खतरनाक हतियार बनेको छ।



सामान्यतया समाचार भन्ने बित्तिकै सत्य हुने विश्वास हाम्रो चेतनामा गहिरो गडेको छ। यही विश्वासको जमिनलाई फेक न्युजले ढाल्ने काम गर्छ। यस्तो समाचारले कुनै घटना घट्नुअघि नै झूटो विवरण दिन सक्छ, कुनै व्यक्तिको छविलाई नोक्सान पुर्‍याउँन सक्छ, वा कुनै सामाजिक समूहबारे गलत धारणा निर्माण गर्न सक्छ। यो केवल पत्रकारिताको संकट होइन, यो सामाजिक संरचनामाथिको नै आक्रमण हो। जुन सूचना चाँडै र छिटो पुग्छ, त्यो गलत भएमा उस्तै चाँडो समाजलाई असर पनि पुर्‍याउँछ।



सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै फेक न्युजले आफ्नो नयाँ घर पाएको छ। फेसबुक, टिकटक, युट्युब  जस्ता प्लेटफर्महरूमा सत्य र असत्य सँग-सँगै देखा पर्छन्। दुवै हेर्न, शेयर गर्न, टिप्पणी गर्न पाइन्छ। तर सत्यको पहुँच सधैं स्पष्ट हुँदैन, कहिलेकाहीँ झूटा सामग्री भावनात्मक रुपमा यति प्रभावशाली हुन्छन कि सत्य पन्छिएर पछाडि परिहाल्छ। मानिसहरू यो त न्युजमै आएको छ, पक्कै सत्य होला!  भन्ने सोचमा पर्छन्, र यही सोंचबाट झूटो सूचना झनै छिटो फैलन्छ।



हाम्रो सामाजिक सञ्जाल संस्कृतिमा एउटा विकृति फैलिएको छ। सूचना पढ्नु भन्दा पहिले धारणा बनाइन्छ, अनि त्यस धारणालाई नै प्रमाण ठानी कमेन्ट गरिन्छ, शेयर गरिन्छ। कतिपय अवस्थामा त समाचार कुन पोर्टलबाट आएको हो भन्ने पनि थाहा नपाई अनि त्यो पोर्टलको विश्वसनीयता कति छ, राजनीतिक आस्था के हो, तथ्यमा आधारित छ कि भावनामा भन्ने मूल्याङ्कनै नगरीकन प्रतिक्रिया दिइन्छ। यस्तो प्रवृत्ति सामान्य जनमानसमा देखिनु सामान्य छ, तर दुखद् कुरा के हो भने यस्ता व्यवहार शिक्षित भनिने वर्गमा पनि बारम्बार देखिन्छ।



नेपालमा पछिल्ला केही वर्षमा सामाजिक सञ्जालमा फैलिएका फेक न्युजले गम्भीर असर पारेका थुप्रै उदाहरणहरू भेटिन्छन्। COVID-19 महामारीका बेला बेसारले कोरोना निको हुन्छ, WHO ले नै घरेलु औषधि सिफारिस गर्‍यो, वा खोपले बाँझो बनाउँछ भन्ने जस्ता झूटा समाचारहरूले आम मानिसमा भ्रम मात्र फैलाएन, स्वास्थ्य सुरक्षामै असर पुर्‍यायो।



केही समय अघि एलन मस्कको कम्पनीले स्याटेलाइट फोन ल्याउँदैछ भन्ने समाचार सामाजिक सञ्जाल, युट्युब र अनलाइन मिडिया प्लेटफर्महरूमा ह्वात्तै फैलिएको थियो। कतिले त यसको विशेषता, मूल्य, मिति र नेटवर्क प्रणालीसमेत बताइसकेका थिए। लाखौँ मानिसले विश्वास गरे, शेयर गरे, टिकटकमा रिभ्यु बनाइए, युट्युबमा समीक्षा पोस्ट गरिए तर अन्त्यमा त्यो एकदमै गलत सूचना भएको प्रमाणित भयो।



हालसालै एउटा फेक न्युजको विषयले पनि राम्रै चर्चा पायो। पत्रकार दिलभुषण पाठकले सामाजिक सञ्जालमा फैलिएको  हिल्टन होटल र देउवा पुत्रको विषयमा तयार पारेको रिपोर्टले नेपाली पत्रकारिता क्षेत्रमा तहल्का मच्चायो। पाठकजस्तो अनुभवी पत्रकारले फेसबुकमा आएका हल्लामाथि गम्भीर अनुसन्धान नगरी रिपोर्ट प्रस्तुत गर्दा न केवल पत्रकारिताको नैतिकता प्रश्नमा पर्‍यो, बरु उनी आफैँ कानुनी झमेलामा फसे। उक्त सामग्रीले न त प्रत्यक्ष स्रोत उल्लेख गर्‍यो, न त होटल खरिदसम्बन्धी प्रमाणित दस्तावेजहरू सार्वजनिक गर्‍यो। फेक न्युजले यति जरा गाड्यो कि होटेल व्यवस्थापनले होइन भन्दै विज्ञप्ति निकाल्दा पनि समाजले विस्वास गरेन। 

 


फेक न्युज केवल कुनै व्यक्तिको चरित्र हत्या गर्ने औजार होइन, यो लोकतन्त्रको जरा नै खोतल्ने अस्त्र हो। सत्य सूचनामै आधारित निर्णय, विचार र अभिव्यक्ति लोकतान्त्रिक प्रक्रियाको मूल आत्मा हो। जब नागरिकहरू झूटो सूचनाका आधारमा निर्णय गर्न थाल्छन्, तब चुनाव, नीति निर्माण र सामाजिक सहकार्य सबै त्रुटिपूर्ण हुन्छ। यस्तो समाजमा संवाद होइन, ध्रुवीकरण हुन्छ; समृद्धि होइन, अविश्वास फैलिन्छ।  जब नागरिकहरू समाचार पढ्छन् तर स्रोतको जाँच गर्दैनन्, तब झूटा सामग्री सत्यजस्तो लाग्न थाल्छ। यस्तो अवस्थामा, पत्रकारिता प्रतिको विश्वास घट्छ, सत्य आवाज दबिन्छ र झूटा कुरा हावी हुन्छ।



अबको युग सूचना र प्रविधिको युग हो। जहाँ ज्ञान केवल पुस्तकमा होइन, औँलाको टुप्पोमै उपलब्ध छ। तर यही अवसरले हामीलाई सजग बनाउनेभन्दा मूर्ख बनाउने खतरा पनि बोकेको छ। सूचना पाउनु मात्र पर्याप्त छैन, त्यो सूचना कति सत्य, कति भ्रमपूर्ण छ भनेर छुट्याउने बौद्धिक क्षमताको खाँचो छ। प्रविधिमा अगाडि बढ्दैमा चेतनामा पनि प्रगति भयो भन्न सकिन्न। डिजिटल पहुँच हुँदाहुँदै पनि तथ्य जाँच नगरी, सतही हल्ला पत्याउने हो भने हामी प्रविधिसम्पन्न मूर्ख बन्छौँ। त्यसैले अबको आवश्यकता भनेको स्मार्टफोन मात्र होइन, स्मार्ट सोचको पनि हो।



यो समस्या समाधान गर्न सञ्जाल प्रयोगकर्ताको सचेतता नै मूल आधार हो।

पहिले, नागरिकमा डिजिटल साक्षरता हुन जरुरी छ, जसमा तथ्य जाँच्ने, स्रोत हेर्ने, अफवाह र समाचार छुट्याउने क्षमता हुनुपर्छ। कुनै सामग्री पढ्नेबित्तिकै शेयर गर्नु अघि, सोच्ने, खोज्ने र तुलना गर्ने बानी विकास गर्न आवश्यक छ। बग्रेल्ती खुलेका अनलाइन मिडियाले पनि सस्तो सनसनी होइन, जिम्मेवार पत्रकारितामा टिक्नुपर्छ। तथ्य पुष्टि नगरी समाचार छाप्नु वा प्रसारण गर्नु नै अर्कै किसिमको फेक न्युज हो।  सरकारको तर्फबाट कानुनी आधारमा स्पष्ट नीति र दण्ड व्यवस्था हुनु आवश्यक छ, तर त्यसले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश नलगाउने गरी सन्तुलन कायम गर्नुपर्छ।



फेक न्युजको लहर सम्हाल्न सजिलो छैन, तर असम्भव पनि होइन। यो केवल सरकार, मिडिया वा प्रविधि कम्पनीको जिम्मेवारी होइन, यो प्रत्येक नागरिकको जिम्मेवारी हो। किनकि झूटा समाचार फैलिनुमा लेख्ने मात्र दोषी होइन, आँखा चिम्लेर विश्वास गर्ने पनि दोषी हो। त्यसैले आवश्यक छ हामी केवल कस्तो समाचार आयो? भन्नेमा मात्र नअल्झिऊँ, कसरी आयो, किन आयो, कसले लेख्यो? भनेर पनि सोच्न थालौँ। यो सोंच नै फेक न्युजको विरुद्ध पहिलो खोप हो। 

Comments

Popular posts from this blog

बदलिएको दाइजो प्रथा- एक दिनको इज्जत

बाह्र-भाइ मिडिया

पण्डितको पेट मन्त्रले भरिँदैन!