एन्टेना घुमाउँदै टिभी हेर्ने त्यो पुस्ता !
हुन त चप्पल पनि नलगाई, खाली खुट्टै बुटवलबाट नुन बोकेर ल्याउने पुस्ता आज पनि हाम्रै वरिपरि देखिन्छ। उनीहरूका चाउरिएको अनुहारले समयको कथा सुनाइरहेका हुन्छन्। तर अहिलेको पुस्ता हेर्दा र आफ्नै बाल्यकाल सम्झँदा, कहिलेकाहीँ अचम्म लाग्छ। हामीले पनि यति धेरै परिवर्तनको बिचमा जन्मियौं र हुर्कियौं कि हाम्रो सम्झनाहरु आजको बालबालिकालाई कथा र कहानीजस्तै लाग्न थालिसक्यो।
आजको पुस्ताले हेर्ने सिरियल नेटफ्लिक्स मा आउँछ, हाम्रो पुस्ताले हेर्ने सिरियल भने "एन्टेफ्लिक्स थियो- एन्टेना फ्लेक्स गर्दा आउने टिभी।" त्यो पनि ब्ल्याक एण्ड व्हाइट! आँगनको डिलमा ठूलो बाँसको टुप्पामा झुन्ड्याइएको एन्टेना, र त्यो एन्टेना घुमाउने जिम्मा सधैं हामी बालबालिकाकै काँधमा। कहिले छानामा, कहिले रुखको टुप्पामा चढेर एन्टेना समाउने काम। पढ्न भन्दा एन्टेना घुमाउनै सजिलो हुन्थ्यो।
बिष्णुपुराण र हिजोआजका कुरा हेर्ने दिन त घरमा युद्ध हुन्थ्यो। एक जना भित्र टिभीको पर्दा हेर्दै- आयो आयो! भनेर कराउँथ्यो, अर्को बाहिर एन्टेना घुमाउँदै- अब आयो? भन्दै चिच्याइरहन्थ्यो । धन्न त्यो बेलामा मोबाइल थिएन, नत्र भिडियो खिचेर टिकटकमा अपलोड गर्दा लाखौं भ्युज आउँथ्यो होला!
एन्टेना भनेको त एन्टेना थिएन, त्यो त हाम्रो बाल्यकालको जिम थियो। भित्रबाट- थोरै दायाँ घुमा! अलिकति बाँया! बस् त्यहीँ हो! । अनि हामी हावा चलेको दिशा हेरेर एन्टेना घुमाउँदै- आयो? अँ...आयो...हात नछोड है! भन्दै रुखको टुप्पामा टाँसिन्थ्यौँ। हावाले एन्टेना हल्लायो भने स्क्रिनमा झ्यार्अ सुरु। झन झम्के झरी पर्यो भने, त्यो दिन त सिरियल त सकिन्थ्यो, हामी भने अझै आयो कि? भन्दै कराइरहन्थ्यौं।
कति पटक त यस्तो हुन्थ्यो- हेर्दा-हेर्दै स्क्रीन झ्याम्मै ह्वाइट हुँदै जान्थ्यो ! आवाज मात्रै आउँथ्यो अनुहार भने झ्याइँझ्याइँ गरेर झ्याम्म पर्दामा हराउँथ्यो। हामी चाहिँ मनको आँखाले दृश्य बनाउँदै कथालाई आँखा र कान दुवैबाट बुझ्ने कोसिस गर्थ्यौं। यो नै थियो थ्रिडी अनुभवको नेपाली संस्करण !
आजका बालबालिकाले सिरियल छुट्यो भने के हुन्छ? पछि युट्युबमा हेर्छन् ! तर हाम्रो पुस्ताले त सिरियल छुट्यो भने, अर्को दिन स्कुलमा साथीहरुबाट रिप्ले सुन्नु पर्थ्यो। झन सिरियल हेर्दा-हेर्दै बिजुली गयो भने त एउटा अमुक क्षण आउँथ्यो। त्यो क्षण चाहिँ राष्ट्रिय शोक सरह हुन्थ्यो। जो जहाँ थिए, त्यहीं जुरुक्क उठ्थे।
केटाकेटी भएर पनि हामी- 'प्राविधिक समस्या समाधानकर्ता' थियौं। टिभी नचल्दा कुन तार खुकुलो भयो, कहाँको स्वीच मिलाउनु पर्ने सब थाहा हुन्थ्यो। आजको पुस्ताले वाईफाइ रिसेट गरेजस्तै हामीले चाहिँ एन्टेना र बुस्टर रिसेट गरेर आकाशसँग संवाद मिलाउँथ्यौं।
अहिलेका केटाकेटीलाई वाइफाइ, राउटर, सिसी क्यामेरा सबै कुरा कन्ठ छ। घरमा एकैछिन नेट गयो भने रिसाउँदै मोबाईल फाल्न सक्छन्। तर हाम्रो समयको नेट भनेको एन्टेना घुमाउँदै टिभी सिग्नल ल्याउने कला थियो। हामीलाई चाहिँ बुस्टर, तार, स्वीच, कनेक्सन, सिग्नल सबै कण्ठ हुन्थे। आजका बच्चा आईटी अफिसर बन्न चाहन्छन्, हामी त पहिले नै बाउ-आमाको अगाडि प्राविधिक भइसकेका थियौं।
अब त सबै थोक टचमा छ। टिभी पनि स्मार्ट, बच्चा पनि स्मार्ट, र टेलिभिजन हेर्ने बानी पनि स्मार्ट। हिजो हामी जुन सिरियल हेर्न घण्टौं रुखमा चढ्यौं, आज त्यो सिरियल हेर्थ्यौं भन्यो भने पनि हाँसोमा उडाउने छन् कतिपय। तर त्यो समय, त्यो रुख, त्यो एन्टेना र त्यो 'अब आयो?' भन्ने झर्किएको स्वर ती सबैले मिलेर बनाएको थियो एक यस्तो बाल्यकाल, जसको कुनै पनि एपिसोड दिमाग बाट डिलिट हुँदैन।
आजका बालबालिकाले एकैछिन नेट गयो भने रुन्छन्, तर हामीले त एन्टेना हल्लियो वा बिजुली गयो भने कराउँदै एकहप्ताको कथाको क्लाइमेक्स नै छुटाएका हुन्थ्यौं।
फलानाको घर टिभी छ रे ! भन्दै मट्टितेलको राँको बालेर गाउँभरिका मान्छे जम्मा भएर एकैसाथ टिभि हेर्ने त्यो जमाना ! तर अहिले कोठै-पिच्छेका स्मार्ट टिभीले
पुराना सम्वन्ध र आत्मियता पनि हराउँदै गएको छ।
कहिलेकाहीँ लाग्छ, आजको प्रविधिले सुविधा त दियो होला, तर त्यो एउटै स्क्रिन वरिपरि गाउँभरीका मान्छे भेला गराउने भावना कहाँ गयो होला?
Comments
Post a Comment