बुवासँग बिताएका अन्तिम पल !
©खेम गैह्रे
२०७१ साउन १९ गते सोमबार। फोन भाइब्रेसनमा थियो दिउँसो करिब तीन बजेतिर मोबाइल खल्तिमा थर्कियो एसो हेरें आमाको फोन रहेछ 'हजुर' भन्न नपाउँदै आमाको कम्पायमान स्वर सुनें 'बाबु बा आत्तिनु भयो छिटो घर आइज' हतार-हतार पसल बन्द गरेर घर तिर हानिएँ।
घर पुगेर बुवालाइ हेर्दा म पनि अत्तालिएँ लामो लामो सास जबर्जस्ति तानिरहनु भएको थियो। मानौं संसारमा भएको हावा जति सबै एकै झ्वाँकमा आफैले तान्न खोज्दै हुनुहुन्छ,अवस्था हेर्न लायक थिएन हतार नगरी एम्बुलेन्सलाई फोन गरें।
केही तल बोकेरै झार्नुपर्ने भएकाले बोक्ने प्रयास त गरें तर उहाँको अवस्था सहज थिएन एक्लै बोक्न सकिने अवस्था थिएन तैपनी साहस गरेरै एम्बुलेन्स सम्म ल्याइपुर्याएँ र गाउँकै प्राथमिक स्वास्थ केन्द्रतर्फ हानिएँ।त्यतिबेला सम्म दाइपनि आइपुग्नु भयो। अस्पताल पुर्याएपछी त लाग्यो अब त बुवालाइ सजिलो होला तर उहाँको पिडादायी अवस्था अझै उस्तै थियो।
यस्तै क्रममा रातको १० बजेतिर डा.सन्दिप श्रेष्ठले भने 'बुवाको अवस्था निकै नाजुक छ जतिसक्यो छिटो पाल्पा लैजानुस। आइसियु लान पर्ने हुन सक्छ त्यसैले लुम्बिनी मेडिकल कलेज प्रवास लौजानु होला।' फेरि त्यै एम्बुलेन्समै अक्सिजन सहित ११:३० मा प्रवास पुर्याउँदा सम्म लागेको थियो बुवालाइ अझै केही वर्ष मै सँगै राख्न पाउँछु।तर बिपरित उनिहरुले 'अवस्था निकै जटिल छ जे पनि हुन सक्छ' भनेपछि त्यो आस पनि बिस्तारै मर्न लाग्यो।
त्यो रात इमर्जेन्सी वार्डकै चिसोमा अनिदै रात काटेपछी अर्कोदिन बिहान करिव ११ बजेतिर बुवालाइ भर्ना गरेर मेडिकल वार्ड तिर लगियो।यद्यपि बुवालाइ निको बनाउने आस भने बिलिन हुँदै थियो। त्यो दिन त्यैसै बित्यो जब रात पर्यो साहिँलो दाइपनि काठमाडौबाट आउनु भयो हामितिन भाइ बुवाको पिडादायी अवस्था टुलुटुलु हेर्दै रात काट्यौं। बिहान १० बजेतिर बल्ल राउन्डमा डाक्टरहरु आए हेरे केही नबोली औसधि लेखेर हिंड्न लागे हामिले बाटो छेक्यौ र सोध्यौं के छ उहाँको अवस्था? डा.पुरन थापाले बाहिर लगेर सम्झाए 'बुवाको अवस्था क्रीटिकल नै छ निको नै हुन्छ त हामी भन्न सक्दैनौं तर कोसिस गर्छौ एकदुइदिन हेर्न पर्छ।'
आज्ञाकारी छात्रजस्तो निको नै होस भन्ने कामना गर्दै टुलुटुलु हेर्दै बस्यौं त्यतिबेलासम्म सबै आफन्तिहरुलाइ खबर भैसकेछ 'लौ बढी भएर प्रवास भर्ना गरेकाछन रे' भनेर। जताततै बाट आफन्तहरुले दिउँस आउँछौ भनेर फोन गरे। बुवालाई सुधार होला भन्दा झन आत्तिदै जानुभएको थियो सास तान्न पहिला भन्दा झन जटिल बन्दै गयो।
बुवाले आफैंले 'अब मलाइ सन्चो हुँदैन घर लैजाओ म यहाँ मर्न चाहान्न' भनेपछी त मन भक्कानियो अनुहार कालो भयो तैपनी सम्झाउँदै 'केही हुँदैन त्यसै आत्तिन्न हुँदैन' भन्दै सहानुभुती दिंदै बुवा तड्पिएको हेर्दै थियौं। बुवाको अवस्था हेर्दा यस्तो लाग्थ्यो बाँड्न मिल्ने भए सबै मिलेर बाँडेर सजिलो बनाउँने थियौं। बुवा आत्तिदै जानुभयो नर्सहरुलाइ खबर गरें डाक्टर बोलाउनुस भनें उनिहरु हेर्न आए बिचरा अधिकार बिहिन नर्सहरु आउँछन हेर्छन सहानुभुती सहित नेब्युलाइजर मेसिनले बाफ दिन्छ्न जान्छ्न।
बुवालाइ सहज नहुने देखेपछी पटक-पटक डाक्टर बोलाउनुस भन्दै नर्स स्टेसन धाउँन थाल्यौं।उनिहरु पनि के गरून् फोन गर्छन अब आउनुहुन्छ भन्छ्न तर आउँदैनन।रिसले शिखर चुम्न थाल्यो।तर गर्ननै के सकिन्थ्यो र बुवाको पीडा हेर्दै अनेक उपाय सोंचियो। यसै क्रममा दाइका एकजना साथी अस्पताल प्रसासनको राम्रै पदमा रहेछ्न उनलाइ फोन गरेर सबै अवस्था बताए पछि उनैका फोनका भरमा अघि नर्सहरुले फोन गर्दा आउन आनाकानी गरेका डाक्टरहरु एकैचोटी लाइन लाएर आए ब्लड झिकेर आइसियु चेकका लागि पठाए अवस्था ठिकै रैछ। इन्जेक्सन लगाए वुवालाइ बिस्तारै सहज हुँदै गयो।
त्यो पल सम्झिंदा र उनिहरुको व्यवहार सम्झिंदा अहिले पनि लुम्बिनी मेडिकल कलेज तर्फ फर्केर हेर्न मन लाग्दैन यस्तै गरि सहज होला बिसेक होला भन्दा झन भन्दा झन कमजोर र शिथिल हुँदै जानु भयो ९ दिनको दिन अस्पतालले 'अक्सिजनको बन्दोवस्त गर्नुस घर लैजान सक्नुहुन्छ' भनेपछी घरवाट लगेको ९ दिनमा अक्सिजन सहित उस्तै अवस्थामा घर ल्याइयो।
सहज त बुवालाइ भएको थिएन भने हाम्रो बुवालाई सन्चो गराउने आश पनि पुर्णरुपमा बिलिन भैसकेको थियो। यति भैसकेपछी पछि साउदिमा बस्ने अर्को दाइलाइ अस्पतालको रिपोर्ट सहित कम्पनिको म्यानेजरलाइ 'दाइलाइ घर पठाइदिन' अनुरोध गर्दै इमेल गरें।तिनदिनको दिनै दाइ घर आउनु भयो बुवा आत्तिने अत्तालिने क्रम रोकिएको थिएन।
घरी लौ मलाइ बाहिर निकाल भन्नू हुन्थ्यो त घरी लौ कहाँ जाने हो? भन्नुहुन्थ्यो यस्तै क्रममा बुवालाइ भेट्न आउनेको घुइँचो लाग्यो कसैले भागवत बाचन गर्थे त कसैले लौ बैतर्नी दान गर्न पर्यो भन्थें त कसैले लौ पोखरा लए सन्चो हुन्छ प्रवासले सन्चो हुँदैन घरलैजा भनेकालाइ पनि मनिपालले सन्चो बनाको छ भन्दै उदाहरण पेश गर्थे। दाइ आएपछी पोखरा मनिपाल लैजाने निंधो गर्यौ।
प्रवासबाट ल्याएको चारदिनको दिन पछि फेरि चारजना दाजुभाइ सहित बुवालाइ अझैपनी सन्चो बनाउने झिनो आस बोक्दै अक्सिजन सहित पोखरा मणिपाल पुर्याइयो। बिहान ११ बजेतिर मनिपालको इमर्जेन्सी वार्डमा प्रवेश गराउनासाथ लुम्बिनी मेडिकल कलेजको सबै रिपोर्ट र बुवाको अवस्था हेरेर डाक्टरहरु बोले 'अवस्था निकै कृटिकल छ सन्चो नै हुन्छ त भन्दैनौ त्यै पनिकेही दिन हेर्नुपर्छ हेर्छौं।' त्यहाँपनी लौ तिमिहरुकै मर्जी भन्दै सुनेर बस्यौं दिउँसो भर्ना गर्नुपर्छ धरौटीमा जानुस भनेर पठाए १ घन्टा लाइन लागेर पैसा बुझाएर आएँ अनि मेडिकल वार्डको आइस्युलेसन रुममा लगियो।
अर्कोदिन बिहान दुइजना दाइहरु घरतिर लाग्नुभयो दुइजना त्यैं बस्यौं। त्यो दिनपनी त्यसै बित्यो औषधि चलेकै थियो बुवा सहज नै हुनुहुन्थ्यो लाग्यो 'ओहो सन्चोनै हुने हैछ केरे भन्दै एकाआपसमा कुरा गर्दै रात कटाइयो। जब अर्कोदिनको तीन बज्यो बुवा अचानक अत्तालिन लाग्नुभयो डाक्टरहरु आए हेरे अवस्था चिन्ताजनक नै छ भन्दै हाइड्रोकोटेसन नामको इन्जेक्सन लगाए। मैले नर्सलाइ सोधें 'यो कस्तो खालको इन्जेक्सन हो?' नर्सले भनिन 'यो एकप्रकारको ड्रग नै हो आत्तिएको बेलामा सजिलो बनाउने काम गर्छ।' जे होस सहज भयो त्यै ठूलो कुरा थियो।
बुवा अत्तालिनी छोड्नु भयो आनन्दसँग निदाउनु भयो जुन त्यै औसधिको कारामत रैछ। अर्को दिनपनी लगभग त्यस्तै समय तिर फेरि हिजकै घटना दोहोरियो फेरि अत्तालिन लाग्नु भयो पोखरा टाढाको ठाउँ नजिक आफ्नो भन्ने कोहि छैन बुवा बर्बराउन लाग्नु भयो ‘लौ मलाइ घर लैजाओ म यो नर्कमा मर्न चाहान्न।' 'सम्झाउदै अझै चार वर्ष केही हुन्न भनेका छन डाक्टरहरु भन्दै झुटो आश्वासन दिएर थमथम्याउने प्रयास गरें तर पिडाले सहनशक्ति गुमाइसक्नु भएको थियो। फेरि नर्स स्टेसन धाएँ डाक्टरहरु आए फेरि हिजकै इन्जेक्सन लगाए सहज भयो फेरि निदाउनु भयो।
अर्कोदिन राउन्डको समयमा मैले डाक्टरलाइ सबै स्थिती बताउँदै 'अझै यहि इन्जेक्सनको भरमा यहाँ कतिदिन राख्न पर्ने हो? कि हुँदैन भन्नुस कि हुन्छ यति दिन राख भन्नुस। यसरि हुनपनि सक्छ नहुन पनि सक्छ भनेर दोधारे कुरा नगर्नुस।' उनिहरुले अझै एकदुइदिन राख्न भनेपछी त्यै मानेर त्यै इन्जेक्सनको भरमा दुइदिन त्यैं बस्ने निधो गर्यौं। मनिपाल पुर्याएको दशौंदिनको दिन राउन्ड डाक्टरले भने 'यदी हजुरहरुलाइ घर बाट नजिक पाई पर्ने कुनै अस्पताल छ भने भन्नुस हामिले सबै विवरण सहित रिपोर्ट लेखिदिन्छौं उहीँ लगेर यहि औसधी चलाउन सक्नुहुन्छ।' हामिले सल्लाह गर्यौं र पाल्पाको मिसन अस्पतालमा रिफर गरिदिन अनुरोध गर्यौं र भोलि अर्थात एघारौं दिनको दिन पाल्पा मिसन लाने निंधो गर्यौं।
राती ठूलो पानी पर्यो 'जता त्यतै पहिरो झर्यो त्यता आउन सक्ने स्थिती छैन भन्दै गल्याङबाट मगाएको एम्बुलेन्स वालिङ वाट फर्किएँ भनेपछी समस्या थपियो।रिफर लेख्न लागेका उनिहरुलाइ बाटोको स्थिती बताउँदै बाटो खुल्ने बित्तिकै लैजाने गरि रिफर लेख्न लगायौं। आफ्नै परिवारकै व्यक्तिले जस्तो व्यबहार गर्ने मनिपाल कि इन्टर्नल डाक्टर अनुस्का कार्किले राम्रो सहयोग गरिन।
११ बजेतिर स्याङ्जा प्रहरी चौकी को टोल फ्री नम्बर १०० मा फोन गरेर बाटोको अवस्था बुझें त्यति बेला कस्ले फोन उठाए उनको नाम त भनेनन मैले पनि सोधिन तर बाटो पुरै खुलेको र गाडिहरु सन्चालनमा आएको भन्ने झुटो खबर दिए। त्यै खबरलाइ आधार मान्दै पोखरा शिद्दार्थ क्लबको एम्बुलेन्स बुकगरि करिब १२ बजेतिर एघारौं दिनको दिन मनिपाल बसाइ सकेर पोखरा बाट स्याङ्जा तर्फ लागियो।
बुवा सहजनै हुनुहुथ्यो विसेक भएर भन्दापनि अघिल्लो दिन लगाएको त्यै हाइड्रोकोटेसन नामको इन्जेक्सनका कारण।हामिलाइ हतार थियो चार बजेसम्म पाल्पा मिसन पुर्याउनै पर्ने थियो।किनकी हिजो चारबजे लगाएको त्यै इन्जेक्सनले २४ घन्टा भन्दा कामगर्दैन भन्ने पक्का भैसकेको थियो।छोरेपाटन आइपुग्दा एकजना ब्यापारीले झस्काइदिए 'जान त जानुस तर बाटो त खुल्ने लक्षण छैन। त्यै पनि जानुस तपाइँहरु पुग्दा सम्म खुल्न सक्छ।'
अघि खुलिसक्यो भनेको बाटो कसरी बन्द भयो?प्रहरिको विश्वास गर्ने या ती ब्यापारिको?स्वासको गति बढ्न लाग्यो। अहिले बुवालाइ त ठिकै छ हामिलाइ चरपटी हुन लाग्यो के गर्ने के नगर्ने? चालकले सल्लाह दिए 'यहाँ बाट जाम हामिसँग अक्सिजन छँदै छ फर्किनै परे पहिरो गएकै ठाउँमा पुगेर फर्किउँला।'
एकप्रकारले ठिकै पनि लाग्यो रिफर गराएर हिँडेको बिरामी फेरि के भन्दै लैजाने सकेसम्म जस्तोसुकै परिस्थितिमा पनि पाल्पा पुग्न पाएहुन्थ्यो भन्ने एकमनले इक्षा गर्थ्यो त अर्को मनले जान पाइँदैन जस्तो । के गर्ने के नगर्ने सोंचिरहेको थियो।
यस्तै बिचार गर्दै अगाडि बढयौं छोरेपाटन भन्दा केही पर खोलाले डाँडै बगाएर ल्याएको भएपनि बाटो सफा भै ओरि गाडि सन्चालनमा आइसकेको रहेछ। हामी अगाडि बढ्यौं बाटोमा स्याङ्जातर्फ बाट आएका गाडिहरु प्रसस्तै भेटिए चालकले भने 'बाटो बन्द रैनछ गाडिहरु आइरहेका छन।' खुशी हुँदै अगाडि बढ्यौं स्याङ्जा र कास्किको सिमाना कुभिन्डे सम्म हामी तिब्रगतिमा हाँकियौं जब कुभिन्डेमा पहिरोका कारण रोकिएका मोटरहरु देख्यौं अघिको खुशी एकाएक निराशामा परिणत भयो।
भालुपहाड नजिकैको एउटा सानो पहिरोलाइ छिचोल्दै अगाडि मात्रै के बढेका थियौं हामिसँग भएको अक्सिजन सकियो एम्बुलेन्समा भएको सिलिन्डर जडान गरि अगाडि बढ्यौं। पहिरोले रोकिएर बसेका मोटरहरुको लस्कर देखिन लाग्यो। मुटुको गति तिब्रहुन लाग्यो। खलखली पसिना आउन लाग्यो के गरौं र कसो गरौं हुन थाल्यो।
स्याङ्जा सम्म पुग्न पाए त जिल्ला अस्पताल गएर भएनी बस्नहुन्थ्यो जस्तो हुनलाग्यो बिस्तारै गाडि र मान्छेहरुको भिड र चहलपहल बढेतिर आइयो। चालकले पहिरोमै पुगेर कतिबेर लाग्छ नहेरी नजाने भनेपछि अगाडि बढ्यौं भिडबाट सुनिन लाग्यो। 'फर्किए हुन्छ अगाडि बाटो छैन।' ‘हेल्लो गुरुजी अगाडि नजानुस पहिरो एकदुइदिन खुल्दैन।' 'अगाडि १०-१२ वटा पहिरा छन फर्किए हुन्छ।' यसो भन्दा मन अत्तालिन्छ अनि कसैले जाँदै गर्नुस अब खुल्छ होला भन्दा फेरिखुशी हुन्छ। एकजनाले खुल्छ होला भनेर खुशी हुन नपाउँदै अर्काले एकदुइदिन खुल्दैन भन्छ। खुशीलाई पाँच सेकेन्ड पनि मै सँग राख्न पाउँदिन।
तीजको अघिल्लो दिन बाटो पुरै तिजका चेलिभेटिहरुले ढकमक्क थियो। एउटा लाइन पुरै गाडिले भरिएको थियो त अर्को लाइन पैदलयात्री हरुको भिडले। एम्बुलेन्स ले साइरन बजाउँदै बीच-बीच बाट अगाडि हाँनिदा भिडबाट ब्यङ्य प्रहार पनि नभएका होइनन 'अँ अँ अगाडि जाँदा हुन्छ अचेल त एम्बुलेन्स लाई बाटो चाँहिदैन उडेरै जान्छ' ‘एम्बुलेन्सको त पखेटा पनि हुन्छ के रे उड्छ होला जाँदा हुन्छ।' मोबाइलमा चार्ज कम थियो, नमस्तेमा नेट्वर्क थिएन। एनसेल बाट टोल फ्री स्याङ्जा प्रहरिको नम्बर १०० मा फोन गरेर सोधें 'तपाइँहरुले कहिले सम्म खुल्ने देख्नु भएको छ पहिरो? जवाफ आयो 'खुल्छ सर आधाघन्टा जतिमा।' खुशी हुँदै लौ खुल्छ रे भनें। दाइले त्यै पुलिसले गर्दा त यहाँ आइयो नि तिनको पनि के विस्वास गर्नु भन्दै हुनुहुन्थ्यो।
त्यतिबेला सम्म साढेतिन बजिसकेको थियो। बुवाको स्वासको गति बढ्न लाग्यो। कराउन चिच्याउन लाग्नुभयो। बुवालाइ पीडा थपियो हामीलाई टेन्सन। एकपलको पीडा र एक निमेशको खुशि कस्तो हुन्छ त्यै पहिरोले सिकायो। खुशी र पिडाले लुकामारी खेलिरहेको थियो, मोटरहरुको लाइनको सबैभन्दा अगाडि हामीनै थियौं। चार बज्यो बुवा आत्तिदै गएपछी चालकले भने फर्किने कि के गर्ने? अझै एकचोटी प्रहरिलाइ सोधौं भनेर फोन गरें जवाफ आयो 'आज खुल्ला जस्तो छैन।' दुइजिब्रे भन्दै फोन काटे।
अन्तमा फर्किएर पुन: मणिपाल नै जाने निंधो गर्यौ एम्बुलेन्स घुमायौं। फर्किने क्रममा अगाडि डिलक्स बस वनवे मात्रै भएको खोल्सामा फसेछ। बुवाको स्वासको गति बढ्न लाग्यो हाम्रो टेन्सनको पारो तात्न लाग्यो। केहिबेरमा जसोतसो बस क्रस भयो हामी सात बजेतिर फेरि अस्पताल पुग्यौं। इमर्जेन्सीमा भित्र लगेर बुवाको बारेमा र बिहान गरेको डिस्चार्जको बारेमा हामिले केही बोल्नु परेन उनै डा.अनुस्का कार्कीलाई भनेर उनैले सबै कुरा गरिन त्यो रात त्यैं इमर्जेन्सी वार्डमै बस्ने र अर्कोदिन बाटोखुल्ने बित्तिकै हिंड्ने सम्झौता गरिबस्यौं।
भोलिपल्ट १० बजेतिर स्याङ्जा चौकीमा फोन गरेको 'भर्खरै वान वे सुचारु भयो।' भन्ने शन्देश दिए। उनिहरुकै भरमा मात्रै हिंड्न हुँदैन भन्ने ज्ञान अघिल्लै दिन पाइसकेको ले अघिल्लो दिन हाम्रै पछाडिका बस चालक एकजना दाइलाइ फोनगर्यौं। उनले पनि हामी भर्खरै क्रस भयौं भनेपछी ढुक्क भयो। बुवा आत्तिनु भयो भने परिस्थिति हिजोजस्तै भयो भने के गर्ने? सोंचेर हाइड्रोकोटेसन नामको इन्जेक्सन परेको खन्डमा आफैं लगाइदिन्छु भन्ने सोंचेर दुइवटा इन्जेक्सन किनेर झोलामा राखें।
साहारा क्लवको एम्बुलेन्स खोजी १ बजेतिर स्याङ्जातिर लाग्यौं। तिजको दिन बाटोमा महिलाहरु झुप्प-झुप्प जम्मा भएर नाँचेको देखिन्थ्यो। त्यस्तैक्रममा साँझ करिब पाँच बजेतिर मालुङ्गा आइयो। बाटोमा धेरैबेर रोक्दा भिडभाड हुन्छ भनेर दाइ र आमालाई रेडि अवस्थामा बस्न लगायौं। आमा र दाइ मालुङाबाट एम्बुलेन्समा चढ्नुभयो। आजभने बुवा सहज नै हुनुभयो। इन्जेक्सन लगाउनु परेन राम्रैभयो।
६ बजेतिर पाल्पा मिशन अस्पतालको इमर्जेन्सी वार्डमा प्रवेश गरि मणिपालको रिफर लेटर देखाइयो। उनिहरु झस्किए 'यस्ता औषधिहरु त हामीसँग छैनन।' भन्दै एकान्तमा लगेर बुवाको अवस्थाको बारेमा बताउँदै 'हामिले सन्चो बनाउन त सक्दैनौं तर भर्ना गर्छौं' भने। हामिले पनि 'हामिहरुले यहाँ सन्चो बनाउने आसले ल्याएका हैनौं कतिदिन राख्न मिल्छ राख्नुस अन्तिम भएपछी घर लान्छौं' भन्यौं। भर्ना गरेर वार्डमा लगियो।
दाइलाइ र आमालाइ छोडेर दुइभाइ राती दशबजे घर आइपुगियो। अर्कोदिन गाउँतिर जाँदा 'किन राखेका हौ अस्पताल? नहुने भए किन खर्च गर्छौ?' भनेकालाई स्पष्टीकरण दिंदादिदै साँझ फेरि पाल्पातिर लागें। अवस्था सहजनै रैछ। दिन बित्दै गए। लगेको सातौंदिनको दिन डाक्टरले भने पर्सि घर लैजान सक्नुहुन्छ। नौदिनको दिन परिवार नियोजन सँघको एम्बुलेन्समा भदौ बीसगते घर ल्याइयो।
'लौ गैरेलाइ घर ल्याएरे भनेर भेट्न आउनेको चलपहल बढ्यो। बैतर्नी दान गर्यौं।' बाँच्ने कति हो कति मर्ने आज हो कि भोली।' भन्ने उखान बुवालाइ लागुभयो। अक्सिजनका ठुला सिलिन्डर बोकेर साध्य नहुने देखेपछी काठमाडौ दाइलाइ आँफै अक्सिजन उत्पादन गर्ने इलेक्ट्रोनिक मेशिन लिएर भोली घर आउन भन्यौं। वुवाले आफैं नारी छामेर 'भोलि यतिबेला म जान्छु मलाइ औषधि नख्वाओ।' भन्न लाग्नुभयो।
अर्कोदिन बुवालाइ सहज भयो केही खान लाग्नुभयो निभ्ने बेलाको दियो भने झैं बोली स्पष्ट थियो। साँझ मेशिन लिएर दाइ आउनुभयो मेशिन जडान गरेर अर्कोखाटमा सुतें। तर बिडम्बना त्यस मेशिनको हावा बुवाले आठ घन्टाभन्दा लिन पाउनुभएन। गाउँले दाइहरुले 'बुवालाइ बिसेक भएछ बस्न पर्दैन होला'भन्दै घर तिरै लाग्नु भयो। राती अरुबेला भन्दा सहज नै हुनुहुन्थ्यो।
बिहान करिव साढेतीन बजेतिर कालोचिया मागेर खानुभयो सजिलै सुत्नुभयो। चार बजेतिर 'खेमु' भन्नुभयो तर अरु केही बोल्नुभएन मैले 'अप्ठ्यारो भयो र बा?' भन्दै सिरानी मिलाएर सुताएँ। भाछैन भन्दै सुत्नुभयो तर कहिल्यै उठ्नुभएन।
भदौ २४ गते मगंलबार बिहान सवाचार बजेतिर "अप्ठेरो भएको छैन" भनेको १५ मिनेट जती पछि- किन धार्जे हुनुभयो भन्दै हेरें बोलाएँ तर बोल्नुभएन बुझें बुवाले छोडेर जानूभयो। दाइहरुलाइ उठाए,मन्दिरमा ल्याइयो। मन भक्कानियो बुवाको मुखमा हेर्न सकिन,मन थामेर आफन्तहरुलाइ फोन गरें।
आठबजेतिर सबै आफन्तहरु जम्मा भैसकेपछी घाट लैजाने तयारी हुँदै थियो। संस्कार अनुरुप कपाल खौरिनु पर्ने हुनाले कपाल खौरिएर कोराले शरीर छोपें। एउटा काँध थापेर बाटो लागें यतिन्जेल थामेका आँशुले ठाउँ छोडे बाटो देखिन छोड्यो जसोतसो कहिल्यै नफर्काउने घरी वुवालाइ छोड्न जाँदैथियौ।
मन भक्कानिंदै थियो आवाज थामेपनी आँसु भने रोक्न सकिएन। अन्तत: एकबजेतिर बुवालाइ सधैंका लागि छोडेर घर आइयो।
प्रचलन अनुसार भुटेको केरा खाइयो। दिन बित्दै गए। "सुरुका दुइदिन आफन्त गुमाउँदाको पिडाले पिरोल्छ अनि पछिल्ला अरु दिन नुन खान नपाएको पिडाले पिरोल्छ।" भनेजस्तै हुन लाग्यो।
मृत्यु सबैको निश्चित त छ कसैको ढिलो त कसैको चाँढो फरक त्यत्ती हो। समय बित्दै गयो बुवा त हामीसँग अब कहिल्यै आउनुहुन्न तर उहाँको सम्झनाले भने जिन्दगी भर सताइरहने छ बुवाको अभाव संधै खड्कीरहने छ।
बुवाको आत्माको चीरशान्तिको कामना 🙏
Comments
Post a Comment