"निदाउने मेडम"

(एक स्मृतिमा बाँचिरहेकी शिक्षिकाको कथा)

खेम गैह्रे
गल्याङ नगरपालिका-१, मालुङ्गा, स्याङ्जा।




माटे गारो, टिनको छानो तल्लो झ्यालबाट बिहानको घामको उज्यालो स्कुलको कक्षाकोठामा छिर्दै थियो। पुरानो भवनको भित्तामा झुन्डिएको कालो बोर्डमा अझै हिजो लेखिएका अक्षर मेटिएको थिएन। विद्यार्थीहरू हुलिएर आउँदै थिए, कसैले चप्पल समात्दै, कसैले जाँगेको हुक समात्दै, अनि कसैले खल्तीमा एउटा मात्रै कलम कोचेर।


ठ्याक्कै १० बजेर ५ मिनेटमा स्कुलको गेटबाट रातो सारीमा, कपाल खुम्च्याएर, निधारमा पातलो सिन्दुर लगाएकी शारदा मेडम प्रवेश गर्छिन्।सादा जिन्दगी, अझै सादा देखिने अनुहार। उनको हातमा पुरानो झोलामा किताब, कापी, अनि एउटी आमा भएर पनि शिक्षिकाको दायित्व बोक्न खोज्ने प्रयासका चिह्नहरू भरिएका छन्। उनी कक्षाको एक कुनामा कुर्सी राखेर बसेको देख्नासाथ हामी केटाकेटीहरू खुसी हुन्थ्यौं।


"निदाउने मेडम आइन्!" भन्ने हल्ला कक्षा भरी फैलिन्थ्यो।


"क्लास वर्क गर" उनी बिस्तारै भन्थिन्। अनि झोलाबाट कापी निकालेर, कुर्सीमा बस्छिन्, अलिकति घामतिर फर्केर। कपाल सिउँदोको पछाडि गाँठोमा बाँधिएको, निधारमा घामको पसिना टल्केको। केहीबेरमा उनको निधार तल झुक्छ, र आखाँ बन्द हुन्छ। निद्राको सानो संसारमा हराउँछिन् उनी धेरै नबोलेरै।


हामी चाहिँ उत्सुक बच्चाहरू, जसलाई कापी चेक गराउने रहर थियो। "मेडम, हेर्नुस् त कापी!" भन्दै एक–एक गर्दै अगाडि जान्थ्यौं। तर उनी त निदाएकी। तर पनि कागज पल्टाउने बानीले कहिल्यै साथ छोडेन। निद्रैमा उनको हात कापी पल्टाउँथ्यो, पान्ना सकिएको नपत्याएर पनि रातो कलमले ठिक चिन्ह लगाइदिन्थिन्। कहिले काँही हामी जिस्किन्थ्यौं खाली कापी लिएर गएर पनि `ठिक´ पाउने! त्यो हाम्रो स्कुल जीवनको सानो जितजस्तै लाग्थ्यो।


त्यसबेला हामीलाई लाग्थ्यो उनी स्कुल निदाउनकै लागि आउँछिन्।

तर आज… जब म घर, काम, जिम्मेवारी र जीवनको थकान बुझ्न थालेको छु त्यो सानो निद्रा कति ठूलो कथा हो भन्ने महसुस हुन्छ।


शारदा मेडम केवल शिक्षक थिइनन्। उनी एक आमा थिइन् बिहान सबेरै उठेर छोराछोरी तयार पार्ने, भान्सामा काम सकाएर सासू ससुराको सेवा गर्ने, अनि स्कुल पुग्ने। हिजोको थकाइ नसकिँदै आजको भागदौड सुरु हुने त्यो अनवरत यात्रा। स्कुलको त्यो कुर्सी नै उनको लागि एकमात्र विश्रामको टुकडी थियो जहाँ उनी केहीबेर आफ्ना आँखा बन्द गर्न सक्थिन्, आफ्नो बोझ हल्का गर्न सक्थिन्।


हामीले भने उनलाई "निदाउने मेडम" भनेर जिस्क्याउँथ्यौं।

शायद उनी अर्धनिद्रामै ती कुरा सुन्थिन्।

शायद उनको मनले गहिरो चोट पाउँथ्यो, तर ओठ भने जहिल्यै मौनै रहन्थे।

कहिल्यै गुनासो गरिनन्, कहिल्यै रिसाइनन्।


आज लाग्छ, उनको त्यो निद्रामा केवल थकाइ थिएन, त्यो एउटा शान्त विद्रोह थियो जसले आवाज ननिकाली आफैंलाई चिच्याउँदै थियो।

एकदिनको होइन त्यो अवस्था, त्यो त वर्षौंको लगातार जस्तो थियो।

शिक्षकको ज्यानमा, उनी एक आमाको मुटु बोकेकी थिइन्।


सायद स्कुलको त्यो कुर्सी नै थियो उनीसँग भएको एक मात्र विश्रामको ठाउँ। जहाँ उनी केहीबेर आफूलाई बिर्सिन्थिन्। उनको निद्रामा हामीले देखेको कमजोरी थिएन त्यो त थकाइको कथा थियो। त्यो निद्रामा सुतेको थिएन केवल शरीर, त्यो निद्रामा विसाउने प्रयास थियो एउटा महिलाको मन।


आज सम्झँदा मेरो मन झसङ्ग हुन्छ—

त्यो 'निदाउने मेडम' भन्ने हाम्रा फुसफुसाहटहरू कति निर्दोष तर कति अज्ञान थिए! आज म सम्झन्छु, हामीले नबुझेको शिक्षिका, जीवनको सबैभन्दा ठूलो पाठ चुपचाप पढाइरहेकी थिइन् धैर्यता, समर्पण र मौन संघर्षको पाठ।

Comments

Popular posts from this blog

बदलिएको दाइजो प्रथा- एक दिनको इज्जत

बाह्र-भाइ मिडिया

पण्डितको पेट मन्त्रले भरिँदैन!