यदि छोराले घर, थर, संस्कार फेर्नु परेको भए?

खेम गैह्रे
गल्याङ् नगरपालिका-१, मालुङ्गा, स्याङ्जा।





विवाह हाम्रो समाजको एक पवित्र र गम्भीर संस्कार हो । यो केवल दुई व्यक्ति बीचको सम्बन्ध होइन, दुई परिवारबीचको आत्मीय सम्बन्धको प्रारम्भ हो। तर दुःखको कुरा, आज पनि नेपाली समाजमा यो संस्कार बराबरीको होइन, असमानताको ढाँचामा बाँचिरहेको छ। विशेषगरी छोरी दिने पक्षप्रति समाजले देखाउने दृष्टिकोण अझै पनि सानो को दर्जामा सीमित छ। "छोरी दिने सानो, लैजाने ठूलो" भन्ने सोच केवल वाक्य मात्र होइन, त्यो एक गहिरो सामाजिक अन्यायको प्रतिबिम्ब हो। बाबुआमाले ज्यान दिएर, माया र मेहनतले हुर्काएको छोरीलाई जब विवाहमार्फत अर्को घर पठाउँछन्, त्यही बेला उनीहरूलाई इज्जत जोगाउन खर्च गर्नुपर्ने बाध्यताले अझ पीडित बनाउँछ।


यो सोच सामाजिक दृष्टिले मात्र होइन, मानवीय दृष्टिले पनि अनुचित छ। एउटा छोरीले विवाहपछि आफ्नो घर, थर, संस्कार, जीवनशैली सबै परिवर्तन गर्छे। ऊ अन्जान घर, अन्जान मानिस र नयाँ परिवेशसँग समायोजन गर्न संघर्ष गर्छे। तर अझै पनि विवाह समारोहमा केटी पक्षले ढोग गर्नुपर्ने, दक्षिणा दिनुपर्ने, झुक्नुपर्ने जस्ता परम्पराहरू निभाइन्छन्, जुन आत्मसम्मानको घोर अपमान हो। एउटा आमाबुबा, जसले छोरीलाई माया र संघर्षले हुर्काएका छन्, उनीहरूले झुक्नुपर्ने चलन कहाँसम्म जायज ठान्न सकिन्छ? यदि यस सोचलाई उल्टाएर हेर्ने हो भने- कल्पना गरौं त ! केटा पक्षले आफ्नो छोरा, जसलाई जीवनभर माया र आशाले हुर्काएका छन्, कसैकी अन्जान छोरीलाई सुम्पेर 'माइती' बनाउने चलन हुन्थ्यो भने? के केटा पक्ष सानो कहलिन्थ्यो ? यस्तो सोचमात्रले पनि हाम्रो सामाजिक सोचको अन्यायपूर्ण संरचना स्पष्ट देखिन्छ।


वास्तवमा विवाह बराबरीको सम्बन्ध हो, जहाँ दुवै पक्ष समान हुन्छन्। छोरी दिने पक्षले कुनै ऋण तिर्दै गरेको हुँदैन, बरु ऊ अर्को परिवारलाई आफ्नो अमूल्य र जीवनभरको योगदान दिइरहेको हुन्छ। त्यसैले आदर त उसले पाउनु पर्ने हो, सम्मान त उसैका लागि देखाइनु पर्ने हो। केही परिवारहरूले अहिले यस्तो परम्परालाई तोड्ने प्रयास गरेका छन्। उदाहरणका लागि, काठमाडौँका केही सचेत युवाहरूको विवाहमा केटा पक्षले ढोग गरेर केटी पक्षलाई स्वागत गरेका छन्, उपहार साटासाट साझा रूपमा गरिएको छ, र खर्च पनि दुवै परिवारले मिलेर व्यहोरेका छन्। यी अभ्यासहरू समाजमा नयाँ सोचको बीउ हुन्।


तर यस्तो परिवर्तन व्यापक हुन अझै समय लाग्छ। अझै पनि धेरै ठाउँमा, छोरी हुर्काउनु दायित्व मात्र होइन, बोझ ठानिन्छ। विवाहको खर्च, दाइजोको दबाब, र सामाजिक दृष्टिकोणका कारण धेरै बाबुआमा छोरीको जन्मलाई स्वागत गर्न सक्दैनन्। जबसम्म हामी विवाहलाई लेनदेन को होइन, साझेदारी को सम्बन्धको रूपमा स्वीकार गर्दैनौं, तबसम्म यस्तो असमानता अन्त्य हुँदैन।


सामाजिक परिवर्तन सोचबाट सुरु हुन्छ। र यस्तो प्रश्न उठाउने आवाजहरू नै परिवर्तनका अग्रदूत हुन्। हामी यस्ता विभेदकारी परम्पराहरूको आलोचना गरौं, बहस गरौं र व्यवहारमा परिवर्तन ल्याऔं। केवल छोरी दिने होइन, छोरी पाउने परिवार पनि जिम्मेवार, संवेदनशील र आदरभाव युक्त बन्नु पर्दछ। तबमात्र हाम्रो समाज साँच्चै समानतामूलक बन्न सक्छ। अब समय आएको छ विवाहलाई लेनदेन होइन, साझेदारीको रूप दिनुपर्ने। सम्मान र आदर दुवै पक्षलाई बराबरी रूपमा हुनु पर्ने। छोरी दिने पक्ष झुकेको देखिने होइन, गर्वका साथ उभिएको देखिनुपर्ने। किनकि सक्षम छोरी समाजका लागि गर्व हो, उपहार होइन।


विवाह बराबरीको सम्बन्ध हो, जहाँ न केटी पक्ष सानो हुन्छ, न केटा पक्ष ठूलो। विवाहमा झुक्नुपर्ने हो भने नयाँ सदस्य स्वागत गर्ने केटा पक्ष झूक्नुपर्छ। छोरीलाई सुम्पिनु भनेको त्याग होइन, विश्वास र समर्पणको गहिरो भाव हो। त्यसको मूल्य पैसाले होइन, आदर र आत्मीयताले चुकाइनुपर्छ। हामी सबैको जिम्मेवारी हो  अब यो उल्टो परिपाटी सच्याउने। समाजमा न्यायपूर्ण र समानतामूलक संस्कारको जरा गाड्न सुरु गर्ने। विवाह अब झुकाउने होइन, उभ्याउने संस्कार बन्नुपर्छ।

Comments

Popular posts from this blog

बदलिएको दाइजो प्रथा- एक दिनको इज्जत

बाह्र-भाइ मिडिया

पण्डितको पेट मन्त्रले भरिँदैन!